युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

          प्रारम्भिक स्तनपान अर्थात् बच्चा जन्मिएको एक घण्टाभित्रमा स्तनपान गराउने, पूर्ण स्तनपान अर्थात् ६ महिनासम्म नवजात शिशुलाई आमाको दूध मात्र खुवाउने र बच्चा जन्मिएको २ वर्षसम्म अन्य खानेकुरा सँगसँगै आमाको दूध पनि पर्याप्त मात्रामा खुवाउने l

विश्व स्वास्थ्य संगठनले परिभाषित गरेका स्तनपानका यी अवधारणाहरू मैले जनस्वास्थ्य विषयमा स्नातकको अध्ययन सुरू गर्दादेखि विगत ५-६ वर्ष जनस्वास्थ्यकर्मीको रूपमा काम गरिरहँदासम्म कति पटक प्रयोगमा ल्याइयो, कति वकालत गरियो त्यसको कुनै लेखाजोखा गर्न सक्दिनँl

  • स्वास्थ्यकर्मीसँग परामर्श नलिई बच्चालाई दूध पुगेको छैन भनेर बट्टाको दूध तथा ६ महिना नपुगी अन्य बाहिरी खानेकुरा दिने चलन
  • ठूलो संख्यामा महिलाहरूले कार्यालय जानकै निम्ति बट्टाको दूध खुवाउनुपर्ने अवस्था
  • नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तलबी सुत्केरी बिदा ६ महिनासम्म दिन ऐन संशोधनको प्रक्रियामा
  • कार्यालयबाट बाहिर अन्य ठाउँ/कार्यालय फिल्ड जानुपर्ने अवस्थामा एक जना सहयोगीको व्यवस्था ऐनमा थप गर्न आवश्यक

कक्षाकोठा, समुदाय, सचेतनामूलक कार्यक्रम र स्तनपान सप्ताहमा स्तनपानको महत्वसम्बन्धी छलफल मात्र नभएर यससम्बन्धी अनुसन्धानहरूमा पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहभागी हुने अवसर पनि पर्याप्त प्राप्त भएका छन् l

आठ महिना अगाडि आफू आमा बन्ने सौभाग्य प्राप्त भयोl त्यसपछि बल्ल थाहा भयो व्यावहारिक रूपमा एउटी आमाले आफ्नो बच्चालाई चाहँदा चाहँदै पनि स्तनपान, अझ पूर्ण स्तनपान गराउन कति चुनौतीपूर्ण हुँदो रहेछl

एउटी आमाले बच्चा जन्मिएको एक घण्टा भित्रदेखि ६ महिना हुँदासम्म पूर्ण स्तनपान मात्र गराउने वा नगराउने भनेर उनको शारीरिक, मानसिक तथा सामाजिक अवस्थासँग प्रत्यक्ष सम्बन्धित हुने रहेछl

बच्चालाई जन्म दिइसकेपछि शारीरिक रूपमा महिला एकदमै कमजोर स्थितिमा त हुने रहेछिन्, झन् हर्मोन र भावनात्मक उतारचढावका कारण मानसिक रूपमा पनि विछिप्त हुने अवस्था आउने रहेछl यस्तो अवस्थामा उनको श्रीमान साथै परिवारका अन्य सदस्यहरूले उनलाई उच्च मनोबल दिई सहज वातावरण बनाइदिनु अति आवश्यक हुँदो रहेछ l

 

यी त भए मेरा व्यक्तिगत भोगाइ, अब चर्चा गरौं यसका केही प्राविधिक विषयतर्फ र थप मेरा अध्ययन र अनुभवबाट प्राप्त भएका निष्कर्षतर्फ।

पूर्ण स्तनपानसम्बन्धी छलफल गरिरहँदा एक महिलामा स्तनको विकास तथा दूध बन्ने वैज्ञानिक प्रक्रियाका बारेमा बुझ्न आवश्यक छl

नवजात शिशुमा जन्म अवस्थामा स्तनको निप्पल पूर्ण रूपमा देखिने हुन्छ कारण उसमा गर्भधारणको ६ हप्तादेखि नै स्तनको विकास सुरू भएको हुन्छ भने ८ हप्तामा दूध बनाउने ग्रन्थीको पनि विकास हुन थाल्छl

शरीरका अन्य ग्रन्थीसरह स्तन पनि एक ग्रन्थी हो र यो मुख्यत फाइब्रोग्रान्डुलर टिस्यु  र फ्याटी टिस्यु (बोसो) मिलेर बनेको हुन्छl हरेक स्तनमा १५-२० ओटा भाग हुन्छन् भने हरेकमा स-साना थैला हुन्छन् र त्यहाँ दूध बन्ने गर्दछl त्यसरी नै पातलो पाइपजस्तो संरचनाको माध्यमले दूध बन्ने ठाउँबाट दूध स्तनको निप्पलसम्म पुग्छl

निप्पलको वरिपरिको कालो भाग गर्भधारणको अवस्थामा स्तनको आकारसँगै बढ्छ र रंग पनि झन् गाडा कालोमा परिवर्तन हुन्छ जसले गर्दा बच्चालाई जन्मनेबित्तिकै स्तनपान गर्न सहज हुन्छl बच्चाले दूध सही तरिकाले चुस्न स्तनको कालो भाग ढाक्ने गरी मुख राखेको छ/छैन भनेर आमाले विचार गर्नुपर्छl

जब बच्चाले जन्मिएपछि पहिलो पटक स्तनपान गर्छ, स्तनको निप्पल र वरिपरि भएका नसाहरूले यो सूचना आमाको मस्तिष्कसम्म पुर्याउँछन् र मस्तिष्कमा भएको पिट्युटरी ग्ल्यान्ड बाट निस्किएका प्रोल्याक्टिन र अक्सिटोसिन  हर्मोन रगतमा मिसिन्छन्l

प्रोल्याक्टिन हर्मोनले आमाको रगतमा भएका पोषण तत्व जस्तै प्रोटिन, सुगर, आदि प्रयोग गरेर स्तनमा दूध बनाउँछ भने अक्सिटोसिन हर्मोनले स्तनको कोशिकाहरूलाई खुम्च्याएर दूध स्तनको निप्पलसम्म पुर्याउने काम गर्छl

यसरी बनेको दूध बच्चाले चुसेर निल्न थालेपछि अर्को दूधबाट पनि दूध चुहिन्छ वा आमालाई अर्को दूध भरिएर गह्रुंगो महसुस हुन्छ र तिर्खा पनि लाग्न सक्छ l रातिको समयमा दिउँसोभन्दा प्रोल्याक्टिन हर्मोन बढी उत्पादन हुने हुनाले नवजात शिशुलाई राति पनि पटक पटक स्तनपान गराउँदा फलदायी हुन्छ र यसो गर्नाले लामो समयसम्म आमाको शरीरले पर्याप्त मात्रामा दूध उत्पादन गर्न सक्छ l

सुरूका दिनहरूमा नवजात शिशुलाई प्रत्येक १-३ घन्टामा १०-२० मिनेटको लागि स्तनपान गराउनु पर्छ भनिएता पनि बच्चाको मागअनुसार पटक पटक स्तनपान गराउनु सबभन्दा उत्तम हुन्छl जति बढी पटक स्तनपान गरायो त्यति नै प्रोल्याक्टिन हर्मोनको मात्रा शरीरमा बढ्ने भएकोले अझ धेरै दूध बन्छl दूध बन्ने प्रक्रियामा माग र आपूर्तिको धारणा लागु  हुने हुँदा जति बढी स्तनपान गराएर स्तन खाली बनायो, आमाको शरीरले त्यति बढी बच्चालाई दूधको आवश्यकता महसुस गर्ने र अर्कोपल्ट स्तनपान गराउँदा बढी मात्रामा दूध उत्पादन हुने गर्दछl

नवजात शिशुले एकदमै बढी चोटि दूध खान खोज्ने हुन्छन् जुन एकदम सामान्य हो l भोक सँगसँगै आमासँगको आत्मीयता र न्यानोपनका लागि पनि उनीहरू स्तनपान गर्न खोज्छन् l यस्तो बेलामा धेरै जस्तो आमा तथा परिवारले बच्चालाई दूध पुगेन भन्ने गलत धारणा बनाएको र बच्चालाई बट्टाको दूध दिएको पाइन्छl

यसरी एकपटक बट्टाको दूध दिइसकेपछि बच्चा अगाउँछ, अर्कोपल्ट स्तनपान गर्दा राम्ररी चुस्दैन र माग घटेको बुझेर आमाको शरीरले पर्याप्त दूध बनाउँदैन र क्रमश: यो चक्र दोहोरिन्छl

प्राकृतिक रूपमा नै आमाको शरीरले बनाएको दूध बच्चाको लागि मात्रा र गुणस्तरको हिसाबले उत्कृष्ट मानिन्छ l समय सँगसँगै बच्चाको आवश्यकता पूरा गर्नका निम्ति दूधमा पाइने तत्व फेरिँदै जान्छ l बिगौती दूध बच्चा जन्मिएको २-३ दिनसम्म न्यून मात्रामा आउने पहेलो रंगको दूध हो जसमा सामान्य दूधभन्दा बढी मात्रा प्रोटिन, भिटामिन, मिनरल र कम मात्रामा चिल्लो र गुलियोपना हुने गर्दछl

यो दूध बच्चाको लागि पहिलो खोप मानिन्छ किनकि यसमा भएको एन्टिबडीले नवजात अवस्था तथा बाल्यकालमा लाग्ने रोगहरूसँग लड्न सक्ने क्षमता दिन्छl बिगौती दूध २४ घण्टामा कम्तीमा ८-१२ चोटि खुवाउनु पर्छl

२-३ दिनपछि दूधको मात्रा र यसमा भएको तत्व परिवर्तन भएर सामान्य दूध बन्न थाल्छl यो बेला बच्चाले स्तनपान गर्दा सुरूमा हल्का नीलो रंगको पानी र दूधमा हुने चिनीको मात्रा बढी भएको दूध पिउँछ, जसले उसको तिर्खा मेट्छl

केही समय स्तनपान गरिसकेपछि पातलो दूधको साटो बाक्लो चिल्लो पदार्थ बढी भएको दूध आउँछ जुन पिएपछि बच्चाको भोक मेटिन्छ र बच्चा सन्तुष्ट देखिन्छl यो दूधले बच्चाको तौल बढाउन मद्धत गर्छl त्यसैले हरेकपल्ट स्तनपान गराउँदा एउटा स्तन पूरै हलुङ्गो भएपछि वा १०-१५ मिनेट स्तनपान गरिसकेपछि मात्र अर्को स्तनमा खुवाउनु पर्छl यसो नगरेमा बच्चामा दुई प्रकारको दूधमा भएको तत्वको समिश्रण मिल्दैन र पेट दुख्ने, पेटमा ग्यास हुने, हरियो दिसा गर्ने, सुत्न गाह्रो हुने, रुने र झगडा गर्ने, धेरै भोक लाग्ने जस्ता समस्या देखिन्छन्l

यस्ता समस्या हुँदा पनि बच्चालाई दूध पुगेन भनेर बट्टाको दूध वा अन्य आहारा दिने चलन गरिन्छ, जुन सही होइनl

बच्चालाई स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू:

  • कुनै पनि आमाको दूधमा पौष्टिकता कमी वा बढी हुँदैन, हरेक आमाको दूधमा उपयुक्त मात्रामा आवश्यक तत्व तथा रोगसँग लड्ने एन्टिबडिजको मिश्रण हुन्छ l
  • स्तनको आकार हरेक महिलामा फरक हुन्छ र यो मुख्यत स्तनमा भएको फ्याटी टिस्यु अर्थात् बोसोले निर्धारण गर्ने भएकोले दूध कम वा बढी उत्पादन हुनु स्तनको आकारसँग सम्बन्धित हुँदैन l
  • बच्चालाई उसको माग अनुसार दिन र रात पटक पटक स्तनपान गराउनु पर्छl
  • १-३ हप्ता, ६-८ हप्ता, ३ महिना, ६ महिना र ९ महिनामा बच्चाको विकास तीव्र गतिमा हुने भएकोले उनीहरू यो बेलामा केही दिनका लागि अरू बेलाभन्दा एकदम बढी स्तनपान गर्न खोज्छन्, राति धेरै चोटि उठ्छन् र झगडालु हुन्छन,यस्तो बेला दूध पुगेन भनेर नआतिने र पटक-पटक स्तनपान गराउने गर्नुपर्छl
  • जति बढी स्तनपान गरायो त्यति बढी शरीरमा दूध बन्छl
  • यदि बच्चालाई आमाको दूधबाहेक अरू खाने कुरा वा बट्टाको दूध दिइएको छ भने स्वत: दूध उत्पादनमा कमी आउँछl
  • बच्चा रुदा भोक लागेर मात्र रुदैनन्, अरू कारण पनि हुन सक्छन् l

बच्चाले पर्याप्त दूध पाएको थाहा पाउने तरिका: 

  • स्तनपान गर्दा बच्चाले सुरूमा द्रुतगतिमा र पछि बिस्तारै लामोलामो एकनासको लयले बीचबीचमा रोक्दै दूध चुस्छ
  • बच्चाले दूध निलेको प्रष्ट रूपमा देखिन्छ र घुटुक घुटुक आवाज सुनिन्छ
  • स्तनपान गर्दा बच्चाको गाला खोक्रो नभई गोलो हुन्छ
  • स्तनपान गर्दा बच्चा शान्त र आनन्दित देखिन्छ
  • स्तनपानपछि बच्चा आफैंले स्तनबाट मुख हटाउँछ
  • स्तनपानपछि बच्चाको मुख भिजेको देखिन्छ
  • स्तनपानपछि बच्चा सन्तुष्ट देखिन्छ
  • स्तनपानपछि आमालाई आफ्नो स्तन हलुङ्गो महसुस हुन्छ
  • स्तनपान पछि आमाको निप्पल निचोरिएको वा सेतो रंगको नभई स्तनपान अघिको जस्तै हुन्छ

अन्य:

  • बच्चाको तौल जन्मेको दुई हप्तादेखि क्रमिक रूपमा बढिरहेको छl जन्मिएपछि दुई हप्तासम्म केही तौल घट्नु सामान्य मानिन्छ l
  • निदाएकोबाहेक अरू बेला बच्चा चनाखो र स्वस्थ देखिन्छ l
  • बच्चा ५ दिनको भएदेखि हरेक २४ घन्टामा ६-८ पटक पिसाब फेर्छ र पिसाबको रंग सफा हुन्छ l

प्राय जस्तो आमाहरूलाई आफ्नो बच्चालाई पुग्ने गरी दूध शरीरले उत्पादन गरिरहेको छ कि छैन भनेर पिर भइरहन्छ भने सुत्केरी भेट्न आउने वा घरपरिवारका अधिकांश सदस्यको प्रश्न पनि यही नै हुने गरेको पाइन्छl तर तथ्य हेर्दा केही अपवादबाहेक प्राय: सबै महिलाहरूले आफ्नो बच्चालाई चाहिने दूध उत्पादन गर्ने क्षमता राख्छन्l समयपूर्व जन्मिएको शिशु, कम वा धेरै तौल भएको शिशु, सिजरियन सेक्सनबाट जन्मिएको शिशु, फुटेको ओठ भएको शिशु, जुम्ल्याह शिशुहरू, उल्टो निप्पल भएको स्तन, एचआइभी, क्षयरोग लागेकी आमा, आदि जस्ता कुनै पनि अवस्थामा स्वास्थ्यकर्मीको उचित परामर्शका साथ स्तनपान सफल रूपमा गराउन सकिन्छl स्वास्थ्यकर्मीको सल्लाह अनुसार कुनै रोग वा कुनै औषधी खाइरहेको अवस्थामा भने आमाले स्तनपान गराउन नमिल्ने हुनसक्छl

यी कारणले भने अस्थायी रूपमा आमाले दूध उत्पादन गर्न वा स्तनपान गराउन नसक्ने अवस्था हुन सक्छ:

  •  बच्चाले राम्रोसँग दूध चुस्न नसक्नु
  •  दूध चुसाउने तरिका (पोसिसन) ठीक नहुनु
  •  सुरूका दिनमा दूध गानिएको हुनु
  •  दूध चुसाउँदा एउटा स्तनको दुूध ननिख्री अर्को दूध चुसाउनु
  •  दिउँसो र राति गरी पटकपटक र ठीक समयमा स्तनपान नगराउनु
  •  दूध प्रशस्त पुग्छ भनेर आमामा ज्ञान नहुनु र आत्मविश्वासमा कमी हुनु
  •  आमालाई शारीरिक र मानसिक तनाव, थकान, भावनात्मक उतारचढाव हुनु
  •  घरपरिवार र कार्यालयमा सहयोगी वातावरण नहुनु

तर समयसँगै माथि उल्लेखित कुराहरू याद गरी स्तनपान गराइरहँदा, बच्चालाई पुग्ने दूध उत्पादन गर्न सकिन्छ l

दीगो विकास लक्ष्यमा पुग्नका लागि स्तनपानलाई एक प्रमुख आधारका रूपमा लिँदै सन् २०३० सम्ममा पूर्ण स्तनपान गराउने नेपाली आमा ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छl

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण, २०२२ को पछिल्लो तथ्यांक अनुसार भने ५५ प्रतिशत नेपाली महिलाले बच्चा जन्मिएको एक घण्टाभित्र स्तनपान गराउने र ५६ प्रतिशत नेपाली महिलाले ६ महिनासम्म पूर्ण रूपमा बच्चालाई आमासम्म पूर्ण रूपमा बच्चालाई आमाको दूध मात्र खुवाउने तथ्यांक २००६ देखि क्रमश: घट्दो क्रममा देखिन्छl पूर्ण स्तनपान गराउने महिलाको संख्या घट्नुमा हाम्रो समाजमा स्वास्थ्यकर्मीसँग परामर्श नलिई बच्चालाई दूध पुगेको छैन भनेर बट्टाको दूध तथा ६ महिना नपुगी अन्य बाहिरी खानेकुरा दिने चलन एउटा मुख्य कारण हुनसक्छ भनेर अध्ययनहरूले भनेका छन्l

आमा र नवजात शिशुको स्वास्थ्यसम्बन्धी संवेदनशील सूचक यसरी खट्दै जानु मातृ तथा शिशु स्वास्थ्यको लागि अवश्य राम्रो हैनl

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा ‘सरकारी, गैरसरकारी वा निजी संघ-संस्थामा कार्यरत महिलालाई सत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिन सम्मको तलब सहितको प्रसूति बिदा पाउने अधिकार हुनेछ भनिएको छl’

तीन महिना मात्रको बिदाले पक्कै पनि छ महिना पूर्ण स्तनपान गर्नका लागि सहयोगी वातावरण निर्माण गर्दैनl

उक्त ऐनको सोही दफामा महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनु पर्नेछ भन्ने प्रावधान पनि उल्लेख गरिएको छ, तर व्यवहारिक पक्षमा यो कत्तिको लागू भएको छ भन्ने प्रश्न अर्को होl

कार्यालयमा स्तनपानमैत्री वातावरण भएका कतिपय महिलाले आफ्नो बच्चालाई आवश्यकता अनुसार स्तनपान गराउन वा कृत्रिम रूपमा दूध पम्प गरेर खुवाउन पाएका पनि उदाहरण नभएका हैनन्l तर ठूलो संख्यामा महिलाहरूले कार्यालय जानकै निम्ति बट्टाको दूध खुवाउनुपर्ने अवस्था भोग्ने गरेका छन्l

हुन त नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तलबी सुत्केरी बिदा ६ महिनासम्म दिन यो ऐन संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि पठाइसकेको अवस्था छ। यो संशोधनसँगै कार्यालयबाट बाहिर अन्य ठाउँ/कार्यालय फिल्ड जानु पर्ने अवस्थामा एक जना सहयोगीको व्यवस्था ऐनमा थप भएमा ६ महिनासम्म मात्र नभएर २ वर्षसम्म बच्चालाई स्तनपान गराउन कामकाजी आमालाई सहज हुन्छ भन्ने पाटो पनि सरोकारवालाहरूले महसुस गर्न आवश्यक छl

आशा गरौं यस वर्षको विश्व स्तनपान सप्ताह (अगष्ट १-७) को नारा ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरूको प्रतिबद्धता’ लाई पनि समर्थन गर्दै चाँडै नै संशोधित ऐन स्वीकृति भई व्यवहारमा लागू भएको देख्न पाइनेछl

(लेखक स्वास्थ्य तालिम केन्द्र, कोशी प्रदेश, धनकुटाकी जनस्वास्थ्य अधिकृत हुन्।)

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय